मूलपृष्ठ » Story » सुपारे र नुन

सुपारे र नुन

2011-10-23 सुशिला खत्री / म्याग्दी / कास्की

    हिजो अस्ती सुनसान हुने बिहान आज किन सबेरै हल्लीखल्ली मच्चिदै छ ? मलाई थाहा छैन र उठ्न मनपनि लागेको छैन । त्यसैले अस्पतालको शैयामा जीवनमरणको दोसाधमा छटपटाई रहेको बिरामी झैं घरी दायाँबायाँ र घरी तलमाथि गर्दै माडिरहेको छु । होहल्लाले उग्ररुप लिएपछि म ओछयानमा पल्टिरहन सकिन । अनि उठे झयालबाट चियाएको मात्र के थिएँ सबै मानिस हतार हतारमा माथि बनतिर दौडिरहको देखेँ । अनि म पनि हतार हतारमा दौडिएर बाटोमा पुगेँ । त्यहाँ पुग्दा थाहा पाएँ मेरो खुट्टामा चप्पल थिएन । कोठामा फर्के अनि चप्पल लगाएर पुन दौडिएँ । अंकल र दाइलाई सोधेपछि थाहा पाएँ ‘सुपारे यो संसारमा छैन रे ।’

 

       प्रायः सधै सुनसान हुने उक्त घरमा आज थुप्रै गाउँलेहरु जम्मा भएका छन् । यस अघि सधैं घरमा एउटा लाटो बाहेक अरु सबै सदस्य अरुको घरमा ज्याला मजदुरी गर्न जान्थे । अधबैसे सुपारे लाटो भने घरमै बसेर दिउसो कुखुरा र बाख्रा हेथ्र्यो साथै बिहान बेलुका गाउँ पनि डुल्दथ्यो । अहिलेसम्म गाउँका झण्डै आधा मान्छेहरु जम्मा भैसेका छन् । बाँकी मान्छेलाई सबर गराउन कटुवाले बाजे पहिला कर्नल फुकेर पछि भन्दैछन् ‘सुपारेको घरमा गुहार देउ हो हो.... ।’

 

    परिवारका सबैजना कराई कराई रोइरहेका थिए । आगनको छेउपट्टी केही बुढाहरु बास काटेर डोरीले बान्दै, लास राख्न मिल्ने बनाउँदै थिए । दुईजना ठिटाहरु कात्रो लिनलाई बजार गैसकेका थिए । पिढीमा केही आइमाई मान्छेले रोइरहेका परिवारका सदस्यलाई सम्झाउदै थिए । मुल ढोकाको दलिननेर सेतो कपडाले ढाकी राखेको लास थियो । लास पहिलेको शरीर भन्दा दोब्बर जस्तो देखिन्थ्यो । ‘विचारा अकालमै खान नपाएर म¥यो’ छिमेकी बुढाले भन्दै थियो ।

 

   यो मजदुरको परिवार केही वर्ष अगाडि मात्र अर्कै जिल्लादेखि कामको खोजीमा डुल्दै यहि गाउँमा आएको थियो । यहाँ मजदुरीमा काम गर्ने मानिस नपाइने भएकोले गाउँका ठूलाबडाले यहि राख्ने निर्णय गरे । अनि मजदुरी परिवारलाई अनुरुप धेरै पहिले बसाइँ सरेर सहर गएका परिवारले छोडेको छाप्रोमा बस्न अनुरोध गरे । परिवारको नाममा एउटा अविबाहित लाटो उसको दाजुभाउजु र उनिहरुका तिनजना सन्तान थिए । आफ्ना सन्तानमा जेठी छोरी बाहेक बाँकी दुईजना छोरा छोरीलाई सकिनसकी गाउँकै विद्यालयमा पढाएका थिए । बिहान दिउसो अर्काको काम गर्नु उनिहरुको दैनिकी थियो । कहिल्यै सुखको सास फेर्न नपाइने उक्त परिवारमा लाटोले पनि केही काम गर्दथ्यो ।

 

    लाटो सघैं एउटा ठूलो ड्रम बोकेर गाउँका सबै घरघरमा मोही माग्न डुल्थ्यो । यहि क्रममा ऊ एक दिन हाम्रो घरमा पनि आएको थियो । उसलाई लगाएको लुगा, शरीर, हिडाइ र बोलाइ देखेर मैले हेरीरहेँ । उसमा सबै कुरामा नितान्त फरक थियो । मागेको मोहीले बिहान बेलुका जाउलो पकाएर छाक टार्ने गर्दथ्यो । त्यसरी नै गाउँमा सधैं डुल्न थाल्यो । हाम्रो घरमा ऊ बढी नै आउने गथ्र्यो । कारण आमाले उसलाई कहिलेकाही खाना खान दिनुहुन्थ्यो ।

 

    अब म लगायत गाउँका केही अरु साथीहरु ऊसँग परिचित भएका थियौं । जब ऊ ड्रम बोकेर गाउँमा निस्कन्थ्यो; म लगायत थुप्रै केटाकेटी साथीहरु मरेको सिनोमा कागहरु जम्मा भएजस्तै उसको वरिपरी जम्मा हुन्थ्यौं । ऊ पनि अचम्मकै थियो । मोही माग्नलाई कहिले ड्रम बजाएर ताल बिनानै जतापायो उतै उफ्रेर नान्थ्यो त कहिले बच्चाले मुखमा पानी राखेर ननीलीकन कराए जस्तै आकाशतिर टाउँको फर्काएर बुकुर बुकुर..... गरेर कराउथ्यो । उसको यस्तै रमाइलो बानीले गर्दा थुप्रै साथीहरु उसँगै रमाउथ्यौं अनि पछि–पछि लाग्थ्यौं र उसलाई सुपारे भनेर बोलाउथ्यौं । ऊ पनि हेरेर मुसुक्क हास्दथ्यो । हामी सबैले मोही दिन्छौ भनेर अम्खरालाई प्लेटले छोपेर ल्याउथ्यौं । ऊ रमाइ रमाइ नाच्दथ्यो । हामी भने उसको नाच देखेर पेट मिचीमिची हास्थ्यौं । हाँस्दा हाँस्दा कति साथीको आँखाबाट बरर.. आँसु झरेका हुथ्यो, कसैले पसिना निकालेर रातो पिरो बनेका देखिन्थ्यो । नाचिसकेपछि प्लेटले छोपेर राखेको अम्खरा हेदथ्र्यो अनि त्यही समातेर लखेटन थाल्थ्यो । त्यस अम्खरामा हामीले मोही सट्टा पानी भरेर राखि दिएका हुन्थ्यौं । उसले लखेट्दै केहीपरसम्म लखेटथ्यो । त्यसपछि हामीहरु कुखुराले बिस्कुन छरे जस्तै चारैतिर छरिन्थ्यौं । ऊ उभिएरपछि सबैजना नजिक आउथ्यौं । यसपटक भने उसले केही गदैनथ्र्याे । यसरी रमाउनु ऊ र हामीबीचको एउटा खेल नै थियो । जुन एउटा नियमको आधारमा बनेको हुन्थ्यो । अधबैसे लाटो र भर्खरका हामी बच्चाबच्ची बीच न उमेर मिल्थ्यो न हिडाइ न बोलीवचन नै तैपनि एकआपसमा मिलेका थियौं ।

 

    एक दिन लाटो मोही माग्न जुहारेको घरमा पुगेको थियो । दुईवटा लैना भैंसी पालेको जुहारेको घरमा मोही फालाफाल नै हुनेगथ्र्यो । मोही पाउने आसामा बिहानभरी बस्दा पनि नपाएपछि तगलोमा पुगेर सुपारे हुइचचा भन्दै निस्केको थियो । त्यसैबेलादेखि नै हामीले उसलाई सुपारे भनेर बोलाउन थालेका थियौं । त्यसपछि ओल्लपल्लो गाउँका मानिसहरुले पनि सुपारे भनेपछि सबैले चिन्दथे ।

 

    रातदिन नभनी काम गर्दा पनि दुर्द छाक टार्न धौधौ पर्दथ्यो उनीहरुको परिवारलाई । बुढाबुढी र जेठी छोरी सधैं काममा हुन्थे । विद्यालय छुट्टी भएको बेला कान्छा छोराछोरीले पनि सघाउथे । जति दुःख गर्दा पनि अझसम्म राम्रो लुगा लगाउनु त परै जाओस पेटभरी खाना खानसम्म पनि पाउदैन थियो ।

 

    सदा झैं हिजो पनि सबैजना अर्काको काममा गएका थिए । घरमा सुपारे मात्र बसेको थियो । समयले बिस्तारै चार पाँच र छ बजाउदै बेलुकिको सात पनि बजी सकेको थियो । त्यतिबेलासम्म पनि मेलापातबाट घरमा कोही पनि फर्केका थिएनन् । स्कूलबाट फर्केका केटाकेटी पहिला नै सोतर लिन बनमा गैसकेका थिए । उसलाई भोकले खपिनसक्नु भएछ । हातखुट्टा सिस्नुले पोले झैं झमझमाउन थालेछ, पेटको आन्द्रा भुँडी नै बाहिर निस्केला जस्तो भएछ । शरीर थरथरी काम्न थालेछ र हातखुट्टाबाट चिरचिर पसिना आउन थालेछ । केही समयपछि शरीर अलि शान्त भए जस्तो अनुभव भएछ र त्यसपछि धुलो नुन कपाकप खाइदिएछ । खाँदाखाँदा भोकको सुरमा एक पोकय नुन नै खाइसकेछ । अनि ओछयान गएर सुतेछ ।

 

    पछि उसका परिवार सबैजना आ–आफ्नो कामबाट फर्के । दिनभरीको कडा परिश्रमको थकानले लखटरान भएका थिए । ताप्केमा जाउलो पकाएर सबैले अलिकति खाएर सुते । थकानले गर्दा कसैले पनि सुपारेको वास्ता गरेनछ । भोली मात्र थाहा पाएछन् सुपारे छैन भनेर । त्यसपछि रुवाबासी सुरु भएछ । भर्खरै मात्र सहर गएका दुईजना युवा पनि कात्रो लिएर फर्किसकेका थिए । मसँग खेल्ने तथा सुपारे मोरो हुइचया भन्ने सुपारे अब न मसँग खेल्न सक्छ न हाम्रो घरमा आउन सक्छ, न सुपारे मोरा हुइचया नै भन्न सक्छ । उसको लास बासमाथि राखेर बाधिरहेको छ आगनमा । एकोहोरो शङ्ख फुकि रहेको छ । रोइरहेकाहरु भ्mन छटपटाई रहेका छन् । एकै छिनमा पुजारी बाजे अगाडि लाग्छन् । त्यसपछि बाटो लास र मलामी मान्छेको ताँती हुँदै गाउँघर छोडछन् । मेरो अंकल र दाजु पनि मलामी बनेर घाटतिर लाग्छन । घर एकैछिनमा शुन्य हुन्छ । म भने अधेरो अनुहार लगाएर घरतिर फर्के ।
                                                    

                                                               समाप्त

हाम्रा कथा रेडियोमा

हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा